नेपाल विश्वकै एकमात्र हिन्दु राज्य हुँदा कसलाई के असर गरेको थियो ? : केशरबहादुर विष्ट

पूर्व मन्त्री एवम् राजनीतिकर्मी केशरबहादुर विष्टले नेपालका राजनीतिक दल अमिवाजस्ता भएकोले जनताले राजसंस्थाको आवश्यकता महसुस गरेको बताएका छन् । उनले नेपालका राजनीतिक दलको कुनै दर्शन र सिद्धान्त नभएको पनि आरोप लगाए । नवकान्तिपुरसँगको कुराकानीमा विष्टले नेपालको राजनीतिक प्रणाली छासमिसे भएकोले पनि अहिलेको व्यवस्थाबाट कुनै उपलब्धिको आशा गर्न नसकिने बताए । प्रजातन्त्रमा शक्तिको सन्तुलन नभएको प्रणाली नै हुन नसक्ने उनको दाबी थियो ।

विष्टले राष्ट्रप्रमुख पनि राष्ट्रको नभइकन एउटा दलको र दलमा पनि एउटा समूहको र समूहमा पनि एउटा व्याक्तिको हुँदा नेपालको राजनीतिक प्रणाली नै कोल्याप्स भएको उनको आरोप छ । राष्ट्रपतिले अभिभावकत्व ग्रहण गर्न नसक्दा नेपाली जनताले राजसंस्थाको अभाव महसुस गरेको उनको दाबी छ ।



देशको अस्थित्व, स्वाभिमान र स्थायीत्व संकटमा परेको भन्दै हाल राष्ट्रिय शक्ति नेपाल नामक अभियानको सञ्चालन गरिहेका विष्टले यो अभियान ६१ जिल्लामा विस्तार भएको बताए । जुनसुकै दलका मान्छे पनि यो अभियानमा जोडिन सक्ने र राष्ट्रको सेवा गर्न सक्ने विष्टको भनाइ छ । अभियानले संवैधानिक राजसंस्थाको पुनःस्थापना, पहिचानको सम्मान र भूगोलको रक्षालाई आफ्नो अभियानको मुख्य एजेण्डा भएको उनले बताए । नेपालको परिपेक्षमा संघीयता व्यवहारिक नभएको उनले बताए । साथै नेपाल विश्वको एकमात्र हिन्दु राष्ट्र हुँदा कसैको केही नबिग्रनेसमेत बताए ।

विश्वभरका हिन्दुहरू जीवनकालमा एकपटक हिन्दु राष्ट्रमा टेक्छु र पशुपतिनाथको दर्शन गर्छु भनेर नेपाल आएमा नेपालीहरूको आर्थिक अवस्था सुध्रन बेर नलाग्ने उनले दावी गरे । राष्ट्रिय शक्ति नेपालले ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा नलगाएको बरू ‘राजा ल्याऊँ, देश बचाऊँ’ भन्ने नारा लगाउने गरेको उनले बताए । अहिलेका नेताहरूभन्दा राजा धेरै इमान्दार रहेको उनले दाबी गरे । राजाले विदेशमा सम्पति थुपारेका छन् भन्नेहरुले आजसम्म राजाको नामको एक रुपैया पनि विदेशमा लगानी भएको पत्ता लगाउन नसकेको बताए ।

कुराकानीका क्रममा विष्टले १७ हजार नागरिकको हत्या गरेका नेताहरूले राजा हट भनेर अन्दोलन गर्दा १७ जनाको ज्यान जादाँ नै थप नागरिकको ज्यान नजाओस् भनेर पछि हटेका राजासँग अहिलेका नेताहरूको तुलना हुनै नसक्ने बताए ।
(कुराकानीको पूरा अंश भिडियोमा….)

सम्बन्धित समाचार