
प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीमा दर्ता भएका राजनीतिक कुनै पनि प्रस्ताव फिर्ता लिने सहमति नभएको प्रचण्ड-माधव नेपाल समूहले दाबी गरेको छ। बुधबार दुई पटक गरि बसेको बैठकले सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले फिर्ता गर्ने र प्रचण्ड-नेपाल पक्षले संसदको विशेष अधिवेशन बोलाउन संकलित हस्ताक्षर स्थगित गर्नेबाहेक अरू कुनै पनि विषयमा सहमति नभएको एक स्थायी समिति सदस्यले जानकारी दिए ।
‘हामीले पार्टीमा पेश गरेका कुनै पनि प्रस्ताव फिर्ता गर्ने सहमति भएकै छैन, यो सबै वालुवाटारले प्रोपोगान्डा मात्र मच्चाएको हो’, ती सदस्यले भने, ‘हाम्रा एजेन्डाहरू यथावत छन्।’
आजको बैठकमा पनि अध्यक्ष प्रचण्डले हाम्रा पुराना एजेन्डाहरू कायमै रहेको बताएको भन्दै ती सदस्यले यसमा प्रधानमन्त्रीले पुराना सबै कुराहरू फिर्ता लिऔं भन्ने मेरो कुरा मात्र हो भनेको जानकारी दिए।
यसैबिच प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले पनि आज प्रधानमन्त्री र कार्यकारी अध्यक्षबिच सरकारद्वारा ल्याईएको अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाऊन राष्ट्रपतिलाई बुझाईएको पत्र फिर्ताबाहेक अरू कुनै पनि सहमति नाभएको बताएकी छन्।
