
प्रधानमन्त्री केपी ओलीले आज साँझ ५:३० बजे संवैधानिक परिषद बैठक बोलाएका छन्। मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो। त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।
नेकपा स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भैसकेको छ । तर अध्यादेश फिर्ता नलिई प्रधानमन्त्री ओलीले किन परिषद बैठक बोलाए भन्ने खुलेको छैन। प्रधानमन्त्री ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परिषद बैठक बोलाएको जानकारी पठाइसकेका छन्।
ओलीले आज मन्त्रिपरिषद बैठक पनि बोलाएका छन् । बैठक साँझ ६ बजे बस्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा बस्ने बैठकमा मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुने गुरुङले बताए ।
सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश विवादमा परेपछि आजको बैठकमा सोही विषयमा छलफल हुनसक्ने बताइएको छ । नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निष्कर्ष अनुसार आजको मन्त्रिपरिषद बैठकमा अध्यादेश फिर्ताका लागि प्रक्रिया अघि बढाइने नेकपाका एक नेताले बताए ।
यता ओलीले अध्यादेश फिर्ता गर्नुपूर्व परिषद्को बैठक बोलाउँदा प्रचण्ड समूहले आशंकाको रुपमा हेरेको छ ।
