सभामुख सापकोटाको मुद्दामा पेशी तोकियो

नेकपामा विवाद चर्किरहेको बेलामा सोही पार्टीको सिफारिसमा सभामुख बनेका अग्नीप्रसाद सापकोटाको मुद्दा सर्वोच्च अदालतले पेशीमा चढाएको छ। संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोट उपस्थित नभएको रिसमा प्रधानमन्त्रीले अध्यादेश ल्याउँदा अहिले सो विवाद उत्कर्षमा छ । नेकपाभित्रको विवाद चलिरहेको समयमा सापकोटाले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्ष लिएर सभामुख संवैधानिक परिषद्‌मा नगएको भन्दै आलोचना भएको थियो।

सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो। उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाई सरेको थियो। सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाईको पेशीमा चढेको हो। हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ ।



२०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन्।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिटमा अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ।

तत्कालीन नेकपा माओवादीका प्रवक्ता तथा पूर्व सूचना तथा सञ्चारमन्त्री रहेका सापकोटा ’हालसम्म फरार अपराधी भएकाले उक्त जिम्मेवारीले अदालतको अवहेलना गरेको’ जिकीर गर्दै २०६८ असार ६ गते कनकमणि दीक्षितसहितले अवहेलना मुद्दा दायर गरेका थिए। यो सापकोटाविरुद्धको पहिलो अवहेलना मुद्दा थियो। लगत्तै पुर्णिमायाले रिट निवेदन दायर गरेकी थिइन्।

२०६९ मंसिर ११ गते न्यायाधीश वैधनाथ उपाध्यायको इजलासले अन्तरिम आदेश जारी गरेपछि उक्त मुद्दामा सुनुवाइ हुन सकेको छैन। यसअघि सर्वोच्चले लामा हत्या प्रकरणमा १५र१५ दिनमा प्रतिवेदन बुझाउने आदेश जारी गरेको थियो।

सर्वोच्चको उक्त आदेशपछि काभ्रे प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ सर्वोच्च अदालतलाई दिँदै आएको छ।

सम्बन्धित समाचार