
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई निषेध नभई नियन्त्रण गरेर जान खोजेको बताएका छन्। शुक्रबार जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा भएको प्रचण्ड–नेपाल समूहको प्रदेश १ स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधामनत्री ओली पार्टी निर्णयभन्दा बाहिर गएकाले नियन्त्रण गर्नुपर्ने अवस्था आएको बताए।
अध्यक्ष प्रचण्डले आफूहरुले ल्याएको प्रतिवेदनमा प्रवृतिगत कुरा मुख्य भएको दावी गरे। उनले पार्टीभित्र देखिएका समस्या, तिनको निराकरणका बारेमा प्रतिवेदन ल्याएको भन्दै अध्यक्ष ओलीको प्रतिवेदन भने व्यक्तिगत गालीगलौज भएको बताए।
उनले दुवै प्रतिवेदनहरु स्थायी समिति सदस्यसम्मलाई वितरण गरिसकिएको र बाहिर पनि सार्वजनिक गरिसकिएको हुँदा त्यसबारे अध्ययन गरेर निष्कर्षमा पुग्न भेलामा सहभागीलाई आग्रह गरे।
कार्यक्रममा वरिष्ट नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओली गोयबल्स शैलीमा कू प्रचारमा उत्रिएको बताए। उनले सबै समस्याको जड नै प्रधानमन्त्री ओली भएको आरोप लगाए। कार्यक्रममा अर्का वरिष्ठ नेता झलनाथ खनालले सैद्धान्तिक विषयमा आफ्ना धारणा राखेका थिए।
भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए।
