
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवादले उग्र रुप लिइरहेका बेला नेताहरु प्रतिपक्षलाई फकाउने अभियानमा जुटेका छन्। पछिल्लो समय विवाद चुलिइरहेका बेला प्रधानमन्त्री केपी ओलीले मंगलबार ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न आनाकानी गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल झस्किएका छन्।
ओलीले प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँगको सहमतिमै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको आशंका गरिरहेका दुवै नेताहरु कांग्रेसका वरिष्ठ नतो रामचन्द्र पौडेललाई फकाउन सक्रिय भएका छन्।
ओली र देउवाबीच भित्री साँठगाँठ रहेको निचोडमा पुगेका दुई नेताले शुक्रबार साँझ वरिष्ठ नेता पौडेललाई भेटेर फकाउने प्रयास गरेका हुन्। उनीहरुले नेकपामा विवाद बढिरहँदा ओलीले देउवालाई साथ लिएर सरकारको समीकरण फेर्न सक्ने अनुमानसहित त्यस्तो सम्भावना रोक्नका लागि पौडेललाई भेटेका हुन्।
प्रचण्ड-नेपालले पौडेललाई भेटेर सभापति देउवाले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग मिलेर कुनै पनि कदम चाल्न सक्ने भन्दै निगरानी गर्न आग्रह गरेका हुन्।
