नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ पुस ।

चौतर्फी घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध वारपारको लडाइँमा प्रतिपक्षी दलहरु समेत सक्रिय बनेका छन्। शनिबार बिहान नेकपाका असन्तुष्ट नेता पुष्पकमल दाहाललाई ओलीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयमा दर्ता गरेको अभियोगपत्र फिर्ता गर्न गरेको आग्रह ठाडै अस्वीकार गरिएपछि निराश ओलीको संकट त्यसबेला अझ पेचिलो बन्न पुग्यो, जब प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले ओलीबिरुद्ध संसदमा भिड्ने प्रतिबद्धता व्यक्त गरे।
खुमलटार पुगेका ओलीको अनुरोधलाई प्रचण्डले ठाडै अस्वीकारमात्र गरेनन्, उनले अन्य असन्तुष्ट पक्षका वरिष्ठ नेताहरु माधवकुमार नेपाललगायतलाई बोलाएर प्रधानमन्त्रीसँग आफूले गरेको असफल वार्ताको विवरण सुनाए।
पार्टीका विभिन्न निकायहरुमा बहुमत गुमाउँदै गएका ओलीबिरुद्ध शनिबार दिउँसो नै प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा दोस्रो ठूलो प्रतिपक्षी दल जनता समाजवादी दलका नेता पुगेर संसद अधिवेशन बोलाउन माग गर्ने सहमति गरेका थिए। भेला भएका कांग्रेस र जसपाका करिब सय जना सदस्यहरुले ओलीबिरुद्ध निर्णय लिए पनि नेकपा असन्तुष्ट पक्षसँग भने उक्त पक्षको कुनै सहमति बनिनसकेको स्रोतले बतायो।
शनिबारको ओलीको दौडधूप आइतबार निर्धारित नेकपा स्थायी कमिटी बैठकमा देखा परेको ओलीबिरोधी आकारबाट तर्सिएर आएको हो। यसैबीच नेकपाको असन्तुष्ट पक्ष खासगरी पूर्वमाओवादी निकट खेमाले प्रचण्डलाई वैकल्पिक प्रधानमन्त्रीका रुपमा उभ्याएका छन्।
