
लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)का विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि परीक्षा स्थगित गरेको छ । छात्रावासमा रहेका २९ विद्यार्थीमा कोरोना देखिएको छ ।
क्याम्पसको छात्रावासमा बस्ने ८२ विद्यार्थीको स्वाब परीक्षणका लागि पठाएकोमा २९ जनामा कोरोना देखिएको क्याम्पस प्रमुख डा. नारायण न्यौपानेले बताए । संक्रमण देखिएका विद्यार्थीमध्ये १८ जना छात्रालाई नमुना सामुदायिक अस्पतालको आइसोलेसन र ११ छात्रलाई क्याम्पसकै आइसोलेसनमा राखिएको छ ।
त्रिभुवन विश्वविद्यालयको तालिकाअनुसार यस क्याम्पसमा पनि २४ मंसिरदेखि परीक्षा शुरु भएको थियो । केही दिनअघि दुईजना विद्यार्थीमा कोरोना देखिएपछि क्याम्पसमा चलिरहेको परीक्षा ३ देखि ६ पुससम्म स्थगित गरिएको थियो । अहिले थप विद्यार्थीमा संक्रमण पुष्टि भएपछि सबै परीक्षा स्थगित गर्ने निर्णय गरिएको क्याम्पस प्रमुख डा. न्यौपानेले बताए ।
