गृहमन्त्री थापालाई भेट्न बिहानै फेरि पुल्चोक पुगे प्रचण्ड

गृहमन्त्री रामबहादुर थापालाई भेट्न नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल अहिले मन्त्री निवास पुल्चोक पुगेका छन्। सोमबार पनि प्रचण्डले त्यहीँ पुगेर थापासँग छलफल गरेका थिए।

नेकपा औपचारिक रुपमा विभाजन हुन लागेका बेला नेता थापा भने अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग या कार्यकारी अध्यक्ष प्रचण्ड, कतै खुलेका छैनन्।



सोमबार बेलुका भने थापाले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग १ घण्टा छलफल गरेका थिए। संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम गलत भएको बताए पनि थापा सोमबार दुवै अध्यक्षले राखेका कुनै भेलामा सहभागी भएनन्।

आज प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दिउँसो १ बजे केन्द्रीय समिति बैठक राख्ने भएको छ भने प्रधानमन्त्री ओलीले अहिले बिहान ९ बजे केन्द्रीय समिति बैठक राख्दै छन्। प्रचण्डले आफ्नो समूहमा आउन थापालाई पटक पटक आग्रह गरिरहेका छन् ।

सम्बन्धित समाचार