ओलीलाई बर्खास्थ गरेकै दिन यान्छीले भेटिन् राष्ट्रपतिलाई

नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रतिनिधि सभा संकटमा भएका बेला चिनियाँ राजदूत होउ यान्छी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेकी छन् । शीतल निवास स्रोतले दिएको जानकारीअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राजदूत यान्छीबीच मंगलबार साँझ भेटवार्ता भएको हो ।

साँझ ६ बजेतिर यान्छी राष्ट्रपति भेट्न शीतल निवास पुगेकी थिइन् । भेटका क्रममा के छलफल भयो भन्नेबारे खुलिनसकेपनि भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नेकपाभित्र संकट आइपरेको र प्रधानमन्त्री केपी ओलीलाई प्रचण्ड-नेपाल समूहले पार्टीबाट हटाउने निर्णय गरेकै दिन यान्छीले राष्ट्रपति भेटेकी हुन् ।



नेकपाभित्रको विवादमा यान्छीले चासो देखाउने गरेको टिप्पणी हुँदै आएको छ । यस्तै यान्छीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समेत भेट्न समय लिइसकेको र छिट्टै भेटवार्ता गर्ने बुझिएको छ ।

सम्बन्धित समाचार