
जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठकले संसद् अधिवेशन आह्वान गर्न प्रतिनिधि सभाका सभामुखलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै जसपाका सङ्घीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रतिनिधि सभा अहिले पनि जीवित रहने निष्कर्षसहित सभामुखलाई बैठक आह्वान गर्न आग्रह गर्ने निर्णय भएको बताए । उनले भने, ‘प्रतिनिधि सभा अहिले पनि जीवित छ, त्यस कारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्नको निम्ति आह्वान गर्ने पनि निर्णय गरेका छौं।’
प्रतिनिधि सभा विघटनको विरुद्धमा विभिन्न सङ्घर्षका कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ । जसअनुसार पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय भएको पनि सङ्घीय परिषद् अध्यक्ष डा. भट्टराईले बताए ।
बैठकले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटनको घोषणा हुनु असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको भन्दै पूर्णरूपमा खारेज गरेको पनि डा. भट्टराईले बताए ।
