
नेकपाको प्रचण्ड-नेपाल पक्षले आज ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउँदै छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोगमा जान लागेका हुन्।
स्रोतका अनुसार केन्द्रीय सदस्यको हस्ताक्षरसहित सबै विवरण बुझाउन नेकपा नेताको टोली अहिले बिहान १०:१५ बजे निर्वाचन आयोग जानेछ। यसअघि नेकपा बनेपछि ४ सय ४१ सदस्यको विवरण आयोगमा बुझाइएको थियो।
नेकपाको आधिकारिक पार्टी हुन बहुमत सदस्य हुनुपर्ने र ती सबैको विवरण, नागरिकतासहित सनाखत गर्नुपर्ने व्यवस्था छ। सोही विवरण प्रचण्ड-नेपाल पक्षले बुझाउन लागेको हो
सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड-नेपालका पक्षमा रहेको जानकारी दिएका थिए। निर्वाचन आयोगबाट पार्टीको नाम, चुनाव चिन्ह पनि बहुमत सदस्य भएको पक्षले नै पाउनेछ।
