
सभामुख अग्निप्रसाद सापकोटाले बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था भएको बताएका छन् । प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरेको संसद विघटन बैधानिक नभएको संकेत समेत गरेका छन् ।
सभामुख सापकोटाको विज्ञपितमा भनिएको छ–संविधानको धारा ७६ मा प्रतिनिधि सभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ । यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत् समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधि सभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।
सभामुख सापकोटामाथि विशेषाधिकार प्रयोग गरेर संसदको कारवाही चलाउन प्रचण्ड, माधव नेपाल पक्षधर नेकपा र जसपाले दबाब दिइरहेका बेला सभामुखको यस्तो धारणा आएको हो । सभामुख सापकोटाले संविधानको रक्षार्थ राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको बताएका छन् ।
