काठमाडौं उपत्यकामा चिसो बढ्यो, कति पुग्यो न्यूनतम तापक्रम ?

बादल हटेसँगै काठमाडौं उपत्यकामा चिसो बढेको छ । अस्ति र हिजो बिहान बादल लागे पनि आज बिहानैदेखि आकाश खुला भएकाले चिसो बढेको हो ।

काठमाडौंमा हिजोभन्दा आज २ डिग्री तापक्रम घटेको छ । आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।



आज अधिकतम तापक्रम १९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको पनि महाशाखाले जनाएको छ । तराई र पहाडका केही ठाउँमा हुस्सु र कुहिरो भने लागेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए ।

आज दिउँसो पहाडी केही ठाउँमा आंशिक बदलीको सम्भावना छ । त्यस्तै प्रदेश एकमा राति आंशिक बदली रहने अनुमान गरिएको छ । अरु ठाउँको मौसम भने सफा रहने अनुमान छ ।

सम्बन्धित समाचार