नवकान्तिपुर संवाददाता
काठमाडौं, १० पुस ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा नेकपाको प्रचण्ड-माधव समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। शुक्रबार बिहान ९:३० बजेदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले माइतीघरमा प्रदर्शन गरेका हुन्। सो मूहका शीर्ष नेताहरु सडकमै बसेर विरोध गरिरहेका छन् । उनीहरूको प्रदर्शन शान्तिपूर्ण छ।
उक्त समूहका अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातिमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका छन्। उनीहरू कालो ब्यानरसहित प्रदर्शनमा उत्रिएका छन्। प्रतिनिधिसभा भंग गर्नु असंवैधानिक भएको ब्यानरमा लेखिएको छ।
प्रधानमन्त्री ओलीले गत आइतबार प्रतिनिधिसभा भंग गरेका थिए। उक्त कदम असंवैधानिक भन्दै प्रतिनिधिसभा पुनर्स्थापना गर्न दलहरूले माग गरिरहेका छन्।
