जनकपुर-जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी

सरकारले दुई महिना पहिले भारतबाट ल्याएको रेल आउँदो माघभित्र सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जयनगर-कुर्था रेलमार्गमा सञ्चालनका लागि आवश्यक तयारी अघि बढाएको छ ।

अबको एकदेखि डेढ महीनाभित्रमा रेल सञ्चालन गर्न सकिने रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले बताए । उनकाअनुसार आवश्यक मर्मत, तालीम र सफ्टवेयरको काम सकिएसँगै रेल सञ्चालन गरिनेछ । रेल सञ्चालनका लागि कर्मचारीलाई एकरदुई हप्ताको तालीम आवश्यक पर्ने उनले जानकारी दिए ।



उनले भने, ‘त्यो सकिएपछि ढिलोमा माघको अन्तिमसम्ममा गर्ने लक्ष्य रहेको छ ।’ भारतले निर्माण गरेको संरचना १५ देखि २० दिनमा तयारी हुने महानिर्देशक भट्टराईले बताए । उनका अनुसार भारतीय पक्षले यसमा काम गरिरहेका छन् । उनीहरुले गर्नुपर्ने काममध्ये थोरै काम बाँकी रहे पनि सञ्चालनमा समस्या नहुने उनको भनाइ छ ।

कम्प्युटरबाट नियन्त्रण हुने यस रेलमार्गमा ‘सिस्टम इन्स्टल’ गर्ने काम पनि अघि बढाइएको छ । रेल सञ्चालन हुँदा रेल कहाँ पुग्यो, कहाँ पुग्दा अड्कियो वा अरु कुनै समस्या भयो भन्ने हेर्न सकिने उनले बताए ।

कम्पनीले दक्ष र प्रशासनिकलगायत आवश्यक जनशक्ति व्यवस्थापन गरिरहेको छ । आवश्यक कतिपय कर्मचारी स्थायी हुनेछन् भने कतिपय अस्थायीरुपमा नियुक्त गरिने उनको भनाइ छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट निजामति कर्मचारी काजमा ल्याइने उनले जानकारी दिए ।

रेल्वे कम्पनीमा यसअघिका झण्डै ६० जना अस्थायी कर्मचारी र १२ जना स्थायी कर्मचारी रहेका थिए । ती कर्मचारी कम्पनी बन्द भए पनि कम्पनीमा रहेका थिए । कम्पनीले रेल चलाउने ज्ञान भएका दक्ष २६ जना भारतीय कर्मचारीसमेत ल्याउन लागेको छ ।

नेपालमा रेलसम्बन्धी अनुभव भएका जनशक्ति नभएकाले भारतीय कर्मचारी करारमा ल्याउन लागिएको हो । त्यसका लागि मन्त्रालयमा प्रस्ताव पेस गरिएको उनले बताए । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि विदेशी कर्मचारी नियुक्ति अघि बढाउन लागिएको हो ।

 

सम्बन्धित समाचार