नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

नेकपा २ चिरा भएको अवस्थामा नेपाल आएको उत्तरी छिमेकी चीनको विशेष टोलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएको छ । नेपालमा कम्युनिस्ट शक्ति फुटेकामा चिन्ता लागेको आफ्ना राष्ट्रपति सी चिनफिङको सन्देश टोलीले हरेक भेटमा सुनाइरहेको छ ।
राष्ट्रपतिदेखि नेकपाका नेतासामु टोलीको नम्र जिज्ञासा छ, ‘नेकपा किन फुट्यो ? यसको फेरि मिल्ने विन्दु छ कि छैन ? प्रतिनिधिसभा विघटन अब के हुन्छ ?’
टोलीले आइतवार र सोमवारसम्म विभाजित दलका प्रमुख नेतागणसँग भेटघाट भ्याइसकेको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको विशेष टोलीले आइतवार पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुरू गरेको थियो । राष्ट्रपति भण्डारीसामु येचौले माथिका ३ जिज्ञासा राखेका थिए ।
राष्ट्रपति भण्डारीले नेपाल लोकतान्त्रिक बाटोबाट अगाडि बढिरहेको र त्यही बाटोबाटै सबै समस्याको समाधान गर्ने जवाफ चिनियाँ टोलीलाई दिएको राष्ट्रपति कार्यालय स्रोतले बतायो । ‘नेपाल लोकतान्त्रिक विधिबाटै अगाडि बढ्छ । हाम्रा आफ्नै नियम–कानुन छन्। प्रतिनिधिसभा विघटनको यो विषय अदालतमा छ । यसको निरुपण अदालतले लोकतान्त्रिक बाटोबाटै गर्छ,’ राष्ट्रपति भण्डारीले छलफलमा भनेकी थिइन् ।
नेपालमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमले २ देशबीचको सम्बन्धमा कुनै चिसोपना नआउने राष्ट्रपतिको भनाइ थियो । केपी शर्मा ओली २०७४ फागुन ३ गते प्रधानमन्त्री भएका बखत चीनका तर्फबाट कुओ नै बधाई दिन नेपाल आएका थिए । त्यसबेला पनि उनको राष्ट्रपति भण्डारीसँग भेटवार्ता भएको थियो ।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकताका लागि पनि कुओले केही सुझाव व्यक्त गरेका थिए । त्यस आधारमा अहिले पार्टी अगाडि बढ्न नसकेको विषयमा राष्ट्रपति भण्डारीसँग उनले परिचर्चा गरेका थिए । टोलीको अन्य नेतासँगको छलफलमा भन्दा राष्ट्रपति भण्डारीसँग बढी संवाद भएको स्रोतले जनायो ।
राष्ट्रपति सीको विशेष दूतका रूपमा कुओ नेतृत्वको टोली आएको हो । टोलीले आइतवार अपराह्नै बालुवाटारमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग भेटेको थियो । नेकपाकै अर्को पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटासँग टोलीले सोमवार भेटवार्ता गरिसकेको छ ।
कुओ नेतृत्वको टोलीले कम बोल्ने, बढी सुन्ने गरिरहेको स्रोतको भनाइ छ । नेकपा विवाद मिलाउन भूमिका खेल्ने गरी यो टोली काठमाडौं उत्रेको आरोप लागिरहेका बेला टोलीले भने नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नभई आपसी राजनीतिक विश्वास बढाउन र आपसी मित्रतालाई मजबुत बनाउने उद्देश्य साथ भ्रमण भएको प्रस्टीकरण दिएको छ ।
टोलीले नेपालको राजनीतिक स्थिरता, सुशासन र विकासका लागि पनि दलहरूको बलियो आन्तरिक एकता कायम हुनुपर्ने सन्देश भेटका क्रममा राखेको छ । टोलीले नेता प्रचण्डसँग सोमबार बिहान उनकै निवास खुमलटारमा भेटवार्ता गर्यो । दाहालसँग नेकपा कुन विन्दुमा मिल्न सक्छ, के कारणले यो अवस्था आयो भन्नेमा विज्ञासा राखेको दाहालनिकट एक स्थायी समिति सदस्यले बताए ।
दाहालले भने जुन विन्दुमा प्रधानमन्त्री ओलीले बिगार्ने काम गरे, त्यही विन्दुलाई सपार्ने काम गरे फेरि एकताको सम्भावना नटुटेको जवाफ दिएका थिए । ‘पार्टीमा अन्तरविरोध थिए । समस्या समाधान छलफलकै माध्यमबाट हुन्थे । तर प्रधानमन्त्रीले जुन विन्दुबाट छलफल नै हुन नसक्ने वातावरण बनाउनुभयो, त्यही विन्दुमा उहाँ सच्चिन र त्यसलाई सच्याउन तयार हुनुपर्छ । प्रतिनिधिसभा पुनःस्थापनाको अवस्था आए फेरि मिलेर जान सम्भव छ । त्यसका लागि प्रधानमन्त्री तयार हुनुपर्छ,’ चिनियाँ टोलीसँगको छलफलका क्रममा दाहालले व्यक्त गरेको भनाइ उद्धृत गर्दै ती नेताले भने ।
‘नेकपा फुट्न हुँदैन । मिलेरै अगाडि बढ्नुपर्छ,’ राष्ट्रपति सीको सन्देश सुनाउँदै कुओ नेतृत्वको टोलीले दाहालसँग जिज्ञासा राख्दा दाहालले प्रधानमन्त्रीले असंवैधानिक कदम चालेर कलंक बोक्ने काम गरेकाले त्यसलाई सच्याउनुपर्ने बताएका थिए । दाहालपछि उक्त खेमाका अध्यक्ष नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि चिनियाँ टोलीले सोही जिज्ञासा राखेको थियो ।
नेपालले भने नेकपाभित्रको विवाद, ओलीको व्यवहार र पार्टी किन यो अवस्थामा आइपुग्यो भन्ने विषयमा श्रृंखलामा टिपोट प्रस्तुत गरेको स्रोतले बतायो । सबैजसो नेतासँगको भेटमा चिनियाँ विशेष टोलीले नेपालको आन्तरिक मामिलामा आफूहरूको कुनै हस्तक्षेप नरहेको, मैत्रीपूर्ण सम्बन्ध नै चाहेको तर, नेकपाको विभाजनले आफूहरूलाई चिन्तित तुल्याएको बताएका थिए ।
‘नेकपाको विभाजनले हामी र राष्ट्रपति सीलाई समेत चिन्तित तुल्याएको छ । यो विभाजनले फेरि कतै अस्थिरतामा नेपाल जाने हो कि भन्ने विशेष चासो र चिन्ता हामीमा छ । तपाईंहरू नफुट्नोस्, मिलेरै जानुस् भन्ने हाम्रो सुझाव हो,’ विशेष टोलीले नेकपाका दुवै पक्षसँगको भेटमा व्यक्त गरेका थिए ।
पहिलो पटक नेपालका जनप्रतिनिधिमूलक सवै संस्थाका प्रतिनिधिसँग भेट गर्ने गरी आएको यो टोलीले जसपा नेता भट्टराईसँग भने सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पुग्ने सन्दर्भमा चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख पार्टीवीच आपसी सम्बन्ध र नेपाल चीन सम्बन्ध अझै राम्रो र समधुर बनाउन आफूहरू नेपाल आएको बताएका थिए ।
भेटपछि जारी विज्ञप्तिअनुसार भेटका क्रममा उपमन्त्री गुओ यैचोले सन् २०१५ मा तिब्बत जाने क्रममा चेङदुमा भएको भेटको स्मरण गर्दै पुनः भेट्न पाउँदा खुसी भएको धारणा व्यक्त गरेका थिए । टोली सोमवार लैनचौरस्थित सभामुख अग्नि सापकोटाको निवासमा पुगेर भेट गरेपछि दूतावास फर्केको थियो ।
टोलीले मंगलवार कांग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सना लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । बुधवार पनि टोलीको राजनीतिक भेटघाट जारी रहनेछ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
