प्रचण्ड–नेपाल समूहले बनायो बीच सडकमैको मञ्च, प्रदर्शनी मार्गमा गाडी ‘डाईभर्सन’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज प्रतिनिधि सभा विघटनविरुद्ध काठमाण्डौ उपत्यकाका ठाउँ–ठाउँमा विरोध प्रदर्शन गर्दैछ । प्रदर्शनका लागि पार्टीका शीर्ष नेता खटिएका प्रचण्ड–नेपाल समूहले जनाएको छ । यो समूहले काठमाण्डौको प्रदर्शनी मार्गमा बिहान ११ बजेपछि सभा गर्ने जनाएको छ । सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध प्रदर्शन गर्न प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा दुई हजार पाँच सय एक सदस्यीय सङ्घर्ष समिति गठन गरेको थियो । सरकारले गएको ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शन गरिरहेको छ । हिजो नेपाली कांग्रेसले पनि देशभर विरोध प्रदर्शन गरेको थियो ।



यसैबीच नेकपाको प्रचण्ड–नेपाल समूहले विरोध प्रदर्शनका लागि सडकको बीच भागमा नै मञ्च बनाएपछि आज बिहानैदेखि प्रदर्शनी मार्गमा गाडी डाइभर्सन गरिएको छ । प्रदर्शनी मार्गको बीच सडकमा मञ्च बनाएकाले पद्मोदय मोडबाट गाडी डाइभर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

जुनसुकै आन्दोलनका लागि पनि केन्द्रबिन्दु बन्दा प्रदर्शनी मार्गको बाटो प्रभावित हुँदै आएको छ ।

सम्बन्धित समाचार