नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ पुस ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले गत पौष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको संसद विधटन गर्ने कदमलाई असंवैधानिक भन्दै मंगलबार संघीय राजधानी काठमाडौंका विभिन्न स्थानहरूमा विरोध जुलुस निकालेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा गरिने भनिएको विरोध सभामा सहभागी हुनुपूर्व प्रचण्ड–नेपाल समूह समर्थित विभिन्न पेशागत संघ–संगठनहरूले प्रतिगमनका विरुद्ध एकजुट होऔंलगायत प्रम ओलीका विरुद्धमा पनि चर्को नारा लगाएका थिए ।
विरोध जुलुसले ‘प्रतिगमनका विरुद्ध एकजुट होऔं, जनअधिकारको रक्षा गरौं, संविधानको रक्षा गरौं, व्यक्तिवादी अराजकताको भण्डाफोर गरौं, पश्चगामी कदमको प्रतिरोध गरौं’ लगायतका नारा लगाएका थिए ।
‘देशमा राजनीतिक अस्थिरताको पूर्ण अन्त्य एवम् समाजवादका आधार निर्माण गर्ने उद्देश्यसहित भएको पार्टी एकता, भ्रष्टाचार नियन्त्रणसहित सुशासनको स्थापना गर्ने दृढता तथा सुशासनका माध्यमबाट सर्वसाधारण नागरिकलाई प्रत्यक्ष राहतको अनुभूति दिलाउने आफ्नै प्रतिबद्धताविपरीत कोरोना महामारीको यो दुखद् परिघटनाका बीचमा स्वेच्छाचारी ढङ्गबाट अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य गरेको ठहर हामीले गरेका छौं’ विरोध जुलुसद्वारा वितरित पर्चामा भनिएको छ ।
