नेकपा हामी हौं, सूर्य चिह्न हामी सँग छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र विरोधी भएको बताएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शनीमार्गमा भइरहेको विरोधसभालाई सम्बोधन गर्दै नेपालले जनआन्दोलनको क्रममा ओलीले गणतन्त्रविरुद्ध आन्दोलनको खिसिट्युरी गर्ने गरेको सुनाए।

‘ओलीले गण्तन्त्रविरुद्ध खिसिट्युरी गर्ने गरेका थिए। उनी भन्ने गर्थे – बयलगाडा चढेर वासिङटन पुग्न सकिँदैन। सडकमा सानो स्वरले कराएर, राजतन्त्र फालेर गणतन्त्र ल्याउन सकिँदैन भनेर महामहिम ओलीले भनेका थिए। त्यसैले ओली संघीयता र गण्तन्त्रविरुद्ध प्रतिकदम चाले। त्यसैले जनता सडकमा ओर्लिए,’ नेपालले भने।



ओलीमा कम्युनिष्टमा हुनुपर्ने गुण नभएको भन्दै नेपालले उनलाई अझै अनुशासित बन्ने अवसर भएको बताए। भने, ‘ओलीलाई अनुशासनको कारवाही मात्रै गरेका छौं। पार्टीबाट हटाएका छैनौं। ओलीलाई अन्तिम मौका दिएका छौं। सुध्रिनुहुन्छ कि भनेर।’

तर नेपालले ओली सुध्रिनेमा आफूलाई विश्वास नलागेको बताए। उनले भने, ‘बालुवाटारको बालुवा पेल्दा पेल्दा तेल निकाल्छ सक्छ भनेर म स्याबास भन्छु। बांगो पुच्छरलाई सोझो बनाउने सकिन्छ भनेर कसैलाई लाग्छ भने म स्याबास भन्छु।’

नेपालले नेकपा र सूर्य चिह्न नेकपाको भएको बालुवाटारको गुटको नभएको बताए। ‘भ्रममा नपर्नुस्। बालुवाटारमा भएको भेला गुटको भेला हो। त्यो नेकपाको बैठक होइन। नेकपा हामी हौं सूर्य चिह्न हामी सँग छ। बालुवाटारमा छैन।’

प्रधानमन्त्रीलाई प्रतिनिधसभा विघटन गर्ने कुनै अधिकार नै नभएको भन्दै नेपालले ओलीले संविधानविरोधी काम गरेको बताए।

नेपालले प्रतिनिधिसभा विघटन भएपछि प्रतिनिधिसभा सदस्य नभएको सदस्य व्यक्ति प्रधानमन्त्री हुन सक्दैन व्यवस्था भएको भन्दै ओलीले आफैलाई कामचलाउ प्रधानमन्त्री बनाएको बताए। तर, ओली कामचलाउ भनेर कतैबाट कुनै आदेश विज्ञप्ति ननिकालेको भन्दै आलोचना गरे। ओलीले पदको ललिपप बाड्दै हिँडेको आरोप पनि लगाउ।

‘ओलीले नियुक्ती दिन्छु टिकट दिन्छु भनेर लोभलालच बाड्दैछन्,’ उनले भने। ओलीले वामदेव गौतम, प्रचण्ड र आफूलाई छुट्टाछुट्टै बोलाएर फकाउने गरेको उनले बताए।

सम्बन्धित समाचार