नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

नेकपा प्रचण्ड–माधवकुमार नेपाल समूहले मुख्यमन्त्रीमा प्रस्ताव गरेकी अष्टलक्ष्मी शाक्यले संसदीय दलको बैठक बोलाएकी छन् । वागमती प्रदेश संसदीय दलको बैठक आज बिहान ११ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बोलाइएको शाक्यले बताइन् ।
यही पुस १० गते मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वासको दर्ता गर्दै शाक्यलाई प्रस्तावित गरिएको थियो । ‘संसदीय दलको बैठक नबस्दा धेरै निर्णय प्रभावित भएको छ । प्रदेशसभाका अधिकांश सदस्यहरू काठमाडौंमै भएकाले बिहान ११ बजे पेरिसडाँडाको पार्टी मुख्यालयमा बैठक बोलाइएको छ,’ उनले भनिन् ।
मंगलबार मुख्यमन्त्री पौडेलले प्रदेश संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक बुद्धिमान माझीलाई पदमुक्त गरेका थिए । आजै शाक्यले आफैंले बैठक आह्वान गरेकी हुन् । योसँगै संघमा देखिएको गतिरोध प्रदेश तहका संरचनामा सरेको छ ।
