नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले आफ्नी छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्न लगाएको आरोप लगाएका छन्। बबरमहलस्थित कार्की ब्यांकेटमा आयोजित राजधानीमा उपलब्ध सदूरपश्चिमका नेता तथा कार्यकर्ताहरूको प्रादेशिक भेलालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।
‘प्रचण्डले कांग्रेससँग मिलेर पनि छोरी जिताउन गाह्रो थियो। छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर धुजाधुजा पार्नुभएको थियो,’ उनले भने, ‘हामी मिलौँ। हाम्रा संविधानको सर्वोच्चताका नीति, कार्यदिशा एकै भएपछि अलग्गै बस्नुको अर्थ छैन भनेर मैले उहाँसँग प्रस्ताव राखेको थिएँ। हामी मिल्यौँ।’ तर यो एकता लामो समयसम्म नटिक्नुको कारण भने प्रचण्ड नै भएको उनको आरोप थियो।
सदुरपश्चिमबाट ४ जना मन्त्री बनाएर आफूले निकै अग्रगामी कदम उठाउएको समेत उनको भनाइ थियो। समयको डुंगा र अग्रगमनको डुंगा अघि बढेको तर प्रचण्ड-नेपाल पक्ष भने पश्चगमनतर्फ अघि बढेको नेता ओलीको भनाइ थियो। ‘उहाँहरू अघि बढ्न चाहनुभएन। गणतन्त्र र संविधानप्रतिको दृष्टिकोण सडकमा छर्नुभएको छ,’ उनको भनाइ छ।
प्रचण्डसँग गरिएका सम्झौताले आफ्नो ब्रिफकेस नै भरिएको समेत उनले बताए। कार्यक्रममा उनले नेपालमा कम्युनिस्ट पार्टीको संक्षिप्त विकासक्रम समेत प्रस्तुत गरेका थिए। ओलीले पार्टी एकता लामो समयसम्म नटिक्नुको कारण प्रचण्ड स्वयं भएको आरोप पनि लगाए ।
