नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ पुस ।

अहिले देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बादल र पश्चिमी तराईमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले पहाडी क्षेत्रमा बादल लाग्नुका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए।
उनकाअनुसार आज दिउँसो प्रदेश १, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बादल लाग्ने छ भने बाँकी ठाउँको मौसम सफा रहने छ । तराई क्षेत्रमा लागेको हुस्सु दिउँसोपखबाट हट्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम चिसो रहिरहने हुनाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।
यसैबीच काठमाडौं उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै आजको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीचमा रहने अनुमान गरिएको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
