चार महिनाभित्र ओली सरकार ढल्छः नेता पुन

नेकपा (प्रचण्ड-नेपाल पक्ष)का स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीको ‘असंवैधानिक’ सरकार अब बढीमा चार महिना मात्र टिक्ने चेतावनी दिएका छन्। बुटवलमा नेकपा प्रचण्ड-नेपाल पक्षको लुम्बिनी प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री पुनले राजा महाराजाको शासन टिक्न नदिएका नेपाली जनताले ओलीको निरंकुशता धेरै दिन नसहने दाबी गरेका हुन्।

‘ओलीले निरंकुश सत्ता चलाउने मनसायले असंवैधानिक बाटो हिँड्नुभएको छ,’ नेता पुनले भने, ‘राजारमहाराजाको निरंशुकता नटिकेको नेपालमा ओली निरंकुशता धेरै दिन टिक्न दिँदैनौं।’ ओलीले राज्य शक्तिको दुरुपयोग गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग आफूमातहत राखेको उनको आरोप छ।



संविधानमा स्पष्ट रुपमा नेपाललाई समाजवाद-उन्मुख मुलुक भनिए पनि ओलीको चरित्र र अभ्यास भने दलाल पुँजीपति रहेको नेता उनले आरोप लगाए। नेपालको सम्पूर्ण अर्थ-व्यवस्था सीमित मानिसको मुठ्ठीमा पार्ने गरी ओली अगाडि बढेको आरोप पनि उनले लगाए। तर, असंवैधानिक प्रतिनिधिसभा विघटनको जगमा निरंकुश सत्ता चलाउने ओलीको प्रयास कुनै हालतमा सफल हुन नदिने चेतावनी नेता पुनले दिएका छन्।

यही पुस ५ गते मन्त्रिपरिषद् बैठकमा ओलीले प्रतिनिधिसभा विघटनको प्रस्ताव गर्दा आफूसहित केही मन्त्रीले प्रतिवाद गरेको प्रसंग उल्लेख गर्दै उनले मन्त्रिपरिषदका बहुमत सदस्यको भावनाविपरीत जबर्जस्ती प्रतिनिधिसभा विघटन गराएको बताए। नेता पुनले ओलीको असंवैधानिक कदममा सहयोग गरेर राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको संरक्षक र राष्ट्राध्यक्षको भूमिकाबाट च्युत भएको टिप्पणी गरे।

सम्बन्धित समाचार