बैंक खाताबाट पैसा झिकेको स्वीकारे भीम रावलले

नेकपा नेता एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले सूर्य चिह्न आफ्नो समूहको भएको दाबी गरेका छन् । शुक्रवार धनगढीमा आयोजित नेकपा सुदूरपश्चिम प्रदेश समितिको चौथो बैठकलाई सम्बोधन गर्दै नेता रावलले कार्यकर्तालाई ढुक्क भएर बस्न आग्रह गरे ।

वैधानिक पार्टी र सूर्य चिह्न हाम्रो हो रावलले भने, ‘भ्रममा नबसौँ हामीले नै वैधानिकता पाउँछौँ ।’प्रधानमन्त्री ओलीले लगातार राष्ट्रियता विरोधी र विधि तथा पद्धति विरोधी कार्य गर्न थालेपछि पार्टीले हस्तक्षेप गरेको नेता रावलले बताए ।



‘हामीले घेराबन्दी पनि गरेका छैनौं, उहाँको कार्यमा बाधा सिर्जना पनि गरेका छैनौं,’ रावलले भने, ‘राष्ट्रियता कुल्चिने, जनविरोधी कार्यक्रम ल्याउने,पार्टी विभाजन गर्न खोजेपछि रोक्ने कार्य भने गरेकै हौ।’

नेता रावलले सुदूरपश्चिम प्रदेश समितिको बैङ्क खातामा रहेको पैसा झिकेको स्वीकार गरेका छन् । ‘हाम्रो प्रदेश समिति सचिव र कार्यालय सचिवले पार्टीको काम विशेषले, हाम्रो आवश्यकताले रकम अर्को ठाउँमा पठाएका छौं रावलले भने, ‘केही रकम हाम्रो काममा खर्च भयो ।’

सम्बन्धित समाचार