नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैछ । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध दोस्रो चरणको आन्दोलन कार्यक्रम सो समूहले सार्वजनिक गर्न लागेको हो ।
नारायणकाजी श्रेष्ठको नेतृत्वमा यसअघि नै गठित संघर्ष समितिको बैठकपछि आज दिउँसो पत्रकार सम्मेलनमार्फत आन्दोलन कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । दोस्रो चरणमा वडा तहदेखि केन्द्रसम्म जनपरिचालन गर्ने तयारी प्रचण्ड-नेपाल समूहको छ ।
अन्य दलसँग संयुक्त रूपमा संघर्षका कार्यक्रम गर्ने विषयमा गरिएको छलफलमा तत्काल सहमति नबनेपछि एक्लै आन्दोलन कार्यक्रम घोषण गर्न लागिएको हो । यसअघि प्रचण्ड-नेपाल समूहले काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको थियो ।
