नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ पुस ।

मोटरसाइकलमा सवार एक महिलालाई बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बाघले थुतेर लगेको छ। हालसम्म ती महिलाको अवस्था अज्ञात छ। कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुर की ५० वर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले जानकारी दिए।
डिएसपी खड्काका अनुसार मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए। ‘सन्तोषका अनुसार मोटरसाइकल अलि स्लो भएको थियो ,’ डिएसपी खड्काले भने, ‘त्यही बीचमा बाघले उहाँकी आमालाई झम्टिएर मोटरसाइकलबाटै घिसालेर लगेर गयो, कराउँदा कराउँदा पनि छोडेन।’
बाघले मोटरसाइकलबाट आमालाई लगेपछि सन्तोष भागेर निकुञ्जका सुरक्षाकर्मीलाई खबर गरेको डिएसपी खड्काले बताए। उनलाई सामान्य चोट लागेको छ।
