प्रचण्ड-नेपाल समूहलाई कुनै एक जिल्लामा बहुमत ल्याएर देखाउन ओलीको चुनौती

प्रधानमन्त्री केपी ओलीले आफूसँग बहुमत रहेको दाबी गर्ने प्रचण्ड–नेपाल पक्षलाई कुन चुनावमा बहुमत ल्याएको भनेर प्रश्न गरेका छन् । काठमाडौंमा आयोजित आफूपक्षीय भेलालाई सम्बोधन गर्दै ओलीले कुनै एक जिल्लामा बहुमत ल्याएर देखाउन चुनौती दिएका छन् ।

उनले सोधेका छन्, ‘बहुमत छ भन्छन्, गफै त हो नि सम्धी? कहाँ भयो पुष्टि ? कहाँ छ बहुमत ? दाबी पनि कस्तो बहुमत छ !’ बहुमत छ भनेर घरमा भनेको हो भनेर ओलीले व्यंग्य गरेका छन् । ओलीले अझै पनि पार्टीमा आएर योगदान गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई आह्वान गरेका छन् ।



‘म कमरेडहरूलाई भन्न चाहन्छु । अहिले पनि प्रचण्डलाई अध्यक्षमा राखेका छौं । माधवकुमार झलनाथलाई वरिष्ठमा राखेका छौं । हामी कुनै हतारो गरेका छैनौं । हामी पर्खिराखेका छौं,’ उनले भने, ‘पेरिसडाँडामा अहिले बैठक बसिराख्या छ । यति–यति मान्छे त सीसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्छ । उहाँहरूको हालत त्योभन्दा बढी हुनेवाला छैन ।’

संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने उनले दाबी गरे। ‘हामीले संविधानअनुसार संसद् विघटन गरेर नयाँ जनादेशमा जाने निर्णय गरेका हौँ। अब कुनै पनि हालतमा पुनःस्थापना हुदैन। तपाईंहरू त्यता नलाग्नुहोस्’ उनले भने। बहुमत र अल्पमतको निर्णय अब जनताले गर्ने जिकिर गरे।

सम्बन्धित समाचार