बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको महिलाको शव भेटियो

गएराति बर्दिया राष्ट्रिय निकुञ्जको बाघले मोटरसाइकलबाटै झम्टिएर लगेको कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया नन्दकली थापाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काले शनिबार मध्यान्ह १२ बजेतिर थापाको शव घटनास्थलनजिकै फेला परेको बताए।

‘घटनास्थलभन्दा तीन सय मिटर दक्षिण पश्चिमा उहाँको शव फेला परेको छ,’ डिएसपी खड्काले भने, ‘बाघले अनुहार र दुबै पिडौला खाएको छ। देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको छ।’



शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो। मोटरसाइकल उनका छोरा २२ वर्षीय सन्तोष थापाले चलाएका थिए।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्। छोरा सन्तोषले मोटरसाइकल अलि स्लो भएको समयमा बाघले आमालाई झम्टिएर मोटरसाइकलबाटै लगेको प्रहरी समक्ष बताएका छन्।

 

सम्बन्धित समाचार