नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

आजदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : तापक्रममा कमी साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने र त्यस क्षेत्रमा अझ चिसो बढ्ने हुनाले चिसोबाट बच्न तथा तराई र पहाडी भूभागका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ । यतिबेला सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र वागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली छ भने प्रदेश नं १ र २ मा आंशिक मात्र बदली छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आजदेखि मंगलबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हल्का हिमपातका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी र वागमती प्रदेशका उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा वागमती र प्रदेश १ को भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंगलबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली, गण्डकी , बागमती प्रदेश तथा प्रदेश नं १ का उच्च हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा वागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
