आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक तेल लोड अनलोड प्रविधि जडान

नेपाल आयल निगमको प्रादेशिक कार्यालय लुम्बिनीमा अत्याधुनिक प्रविधि जडान गरेर तेल लोड अनलोड सेड गर्ने कार्य शुभारम्भ गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रायका सचिव डा. बैकुण्ठ अर्यालले उक्त कार्यको उद्घाटन गरेको निगमबाट प्राप्त प्रेस विज्ञप्तिमा जनाइएको छ ।

सचिव डा. अर्यालले पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधिको जडान गरेको बताए । उनले यो प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीहरू समेत सुरक्षित हुने तथा यस क्षेत्रको विकास र विस्तारका लागि निजी क्षेत्रको पनि ठूलो सहयोग आवश्यक रहेने बताए ।



कार्यक्रममा निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत् पेट्रोलियम पदार्थको कारोबारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्य क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोबारलाई अगाडि बढाउदै जाने पनि जानकारी गराए ।

निगमको नायब कार्यकारी निर्देशक सुशील भट्टराईले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थ लोड अनलोड गर्ने काम सुरू गरिएको तथा एपिआई मापदण्ड अनुसार पाइपलाइन जडान, भल्भ र पम्पहरू जडान गरिनुका साथै टैंक-ट्रक लोड गर्न अत्याधुनिक लोडिङ्ग आम्स जडान गरिएको जानकारी दिए ।

निगमका अनुसार २ करोड ५० लाख लागतमा नयाँ प्रविधि जडान गरेर लोड अनलोड गर्न थालिएको हो । यसमा तीनवटा पम्पहरू जडान भएका छन् । यो प्रविधि अनुसार ८ घण्टामा करिब १० लाख लिटरसम्म पेट्रोलियम पदार्थ लोड गर्न सकिने छ । यसअघि सो कार्यालयबाट ८ घण्टामा ३-४ लाख लिटर मात्र लोड गर्न सकिन्थ्यो । नयाँ प्रविधिको जडानपछि कर्मचारीहरूको खटाइको भार घटेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।

निगमले सो स्थानमा टैंक र ट्रक पार्किङ्ग यार्डको पनि विस्तार गरेको छ । यसअघि निगमसँग पर्याप्त पार्किङ्गको सुविधा नहुँदा विभिन्न समस्या भोग्नु परेको थियो । पार्किङ्ग निर्माण हुँदा कार्यालयभित्र नै एक पटकमा करिब १०० वटासम्म टैंक-ट्रकहरू पार्किङ्ग गर्न सकिने भएको छ ।
त्यस अवसरमा नेपाल पेट्रोलिय डिर्लस राष्ट्रिय एसोशिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम पदार्थ भण्डारणको डिपोलाई आधुनिकरण गरेसँगै व्यवसायीलाई सहज हुने बताए । साथै उनले प्रविधिको विकाससँगै व्यवसायीले कारोबार गरे वापत निगमले दिँदै आएको कमिसन रकम पनि समयअनुसार बढाउँदै लैजानु पर्ने कुरामा जोड दिएका थिए ।

सम्बन्धित समाचार