नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ पुस ।

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्धको अविश्वासको प्रस्तावमाथि तीन जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरुमा सांसदहरु प्रकाश श्रेष्ठ, रमा आले मगर र कृण भुर्तेल रहेका छन् । श्रेष्ठ र मगर काठमाडौं ७ र १० बाट निर्वाचित सांसद हुन भने भुर्तेल चितवनबाट निर्वाचित सांसद हुन् ।
उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेशसभा सचिवालयमार्फत आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरुले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री पौडेल थप मजबुत बनेका छन् । हस्ताक्षर फिर्ता लिने सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सहि लागेको बताएका छन् । सांसदहरुले प्रधानमन्त्री अोलीको संसद विघटन गरेर ताजा जनादेशमा जाने कार्य उचित भएको भन्दैको समर्थन जनाएका हुन् ।
प्रदेशका काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै मुख्यमन्त्री पौडेलविरुद्ध ४५ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
वागमती प्रदेशसभामा ११० जना सांसद छन् जसमध्ये नेकपाका ८० जना रहेका छन् । प्रधानमन्त्री ओली समूहमा हाल ३८ जना सांसद छन् भने प्रचण्ड–नेपालको पक्षमा ४२ जना सांसदहरु रहेका छन् । ओली समूहमा अन्य सांसदहरु आउने दाबी गरिएको छ । मुख्यमन्त्री पौडेलले आफूले विश्वासको मत लिने दाबी गरेका छन् । उनले प्रदेशसभामा विश्वासको मत लिएर अगाडि बढ्ने बताएका हुन् ।
