संसद् पुन:स्थापना हुँदैन, वैशाखमै नयाँ चुनाव भएरै छाड्छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले विघटित प्रतिनिधि सभा पुनस्स्थापना नहुने दाबी गरेका छन् । आफूपक्षीय अनेरास्ववियुको भेलालाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुन:स्थापनाको सम्भावना नरहेको बताएका हुन् ।

‘अहिले भर्खरै सर्वोच्च अदालतमा धेरैवटा मुद्दाहरूको फिरादपत्र दर्ता गराएर आएको छु । जवाफ त दिनैपर्‍यो । चुनाव रोकी पाऊँ, मरिसकेको संसद् बौर्‍याउन पाऊँ भनेर मुद्दा हालिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘संसद् पुन:स्थापना हुँदैन ।’ केही शक्तिहरूले चुनाव हुँदैन भनेर भ्रम फैलाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीले चुनाव तोकिएकै समयमा हुने जिकिर गरे ।



‘मैले हिजो एउटा कार्यक्रममा बोल्दा पनि भनेको थिएँ, २०२१ मा नेपालको लोकतान्त्रिक आन्दोलनमा, वामपन्थी आन्दोलनमा एउटा महान सफलता, अग्रमनको वर्ष हुनेछ । २०७८ को वैशाखमा नयाँ निर्वाचन हुनेछ । कतिपय शक्तिहरूले भ्रम फैलाउन खोजेका छन्, चुनाव हुन्न भनेर । चुनाव वैशाख १७ र २७ गते हुन्छ । यस चुनावलाई टार्न, पर सार्न र अल्मल्याउन कसैले सक्नेछैन । चुनाव तोकिएकै समयमा हुन्छ ।’

ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे ।

सम्बन्धित समाचार