नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

पश्चिमी वायुको प्रभावले आइतबार रातिदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात शुरु भएको छ । यो क्रम बुधबारसम्म जारी रहने भएकाले आम नागरिकलाई सतर्क रहन मौसमविद्ले सुझाव दिएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार पश्चिमी क्षेत्रतिर हिमपात तथा वर्षा शुरु भइसकेको छ भने आज काठमाडौंलगायत देशका विभिन्न स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ। यो क्रम बुधबारसम्म जारी रहने देखिन्छ ।
महाशाखाले आज सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छः देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना रहेकाले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन हुन तथा बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आई देशैभरि चिसो बढ्ने सम्भावना रहेकाले चिसोबाट बच्न सजग रहन हुन सबैमा अनुरोध छ।
