नवकान्तिपुर संवाददाता
काठमाडौं, २० पुस ।

हल्का वर्षा भैरहेको भएपनि काठमाडौं उपत्यकाको तापक्रम सोमबार बढेको छ । आइतबार भन्दा सोमबार बिहानको तापक्रम सात डिग्री सेल्सियसले बढेको छ। आइतबार बिहान २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार बढेर ९ दशमलव ५ डिग्री सेल्सियस पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राति काठमाडौंको आकाशमा बादल लागेकाले आज बिहान तापक्रम बढेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। ‘पश्चिमी वायुको प्रभावका कारण यतिबेला देशैभरीको मौसम बदली भएको छ,’ मौसमविद् श्रेष्ठले भने, ‘काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षासमेत शुरु भएको छ। तराईमा घाम लागेको छैन।’
देशका उच्च हिमाली क्षेत्रमा हिमपातसमेत शुरु भएको छ। हिमपात भएका क्षेत्रमा हिचो बढ्दा जनजीवन कष्टकर बनेको छ। अगामी बुधबारसम्म हल्का वर्षा र हिमपात जारी रहने बताइएको छ ।
