नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

मंगलबार बिहान एकाएक देशैभर मौसम बदली भएको छ। आज पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आन देशभर सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ। त्यस्तै प्रदेश २ बाहेकका सबै प्रदेशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ।
हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै छ। हिमपात र वर्षाका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
बुधबार पनि देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।
विहीबार भने देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
