नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।

भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–१ का १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लुहारको खुट्टामा गोलीको छर्रा लागेको छ ।
भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला लुहारमाथि गोली लागेको बताइएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल ल्याइएको छ ।
लुहारमाथि सोमबार साँझ साढे छ बजेतिर गोली प्रहार भएको बताइएको छ । घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
