नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ पुस ।
नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर होस्टेसको सामूहिक बलात्कारका कारण मृत्यु भएपछि यो विषयले सामाजिक संजालमा ठूलो तरंग ल्याएको छ । फिलिपिन्सकी यी एयरहोस्टेसलाई पार्टीकै क्रममा सामूहिक बलात्कार गरिएको र सोही कारण उनको मृत्यु भएको रिपोर्टमा जनाइएको छ ।
यो घटनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्याशट्याग जस्टिसफर क्रिस्टिनडेसेरा ट्रेण्ड गरिरहेको छ । द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रिस्टिन डेसेरा फिलिपिन्स एयरलाइन्समा एयरहोस्टेस थिइन् । उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन जकातीको एक होटलमा बसेकी थिइन् ।
रातमा पार्टी भइरहँदासम्म सबै ठीक थियो तर बिहान साथीहरुले उनलाई मृत अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पुलिसले क्रस्टिनको शव बरामद गर्ने बेला उनको शरीरमा धेरै चोटहरु थिए । यी चोटहरुले उनको सामूहिक बलात्कार भएको जनाउँथे ।