काठमाडौंको वायु प्रदूषण घटेन, सवारीमा जोर-बिजोर नियम लगाउने तयारी

दुई दिनदेखि काठमाडौंको आकाश धुम्म छ। बिहानैदेखि काठमाडौंमा घाम झुल्केको छैन। हुस्सु, तुवालोले ढाकेजस्तो देखिएको छ। यसले भिजिबिलिटी घटाएको छ। तर तापक्रम भने घटेको छैन । आज काठमाडौंको तापक्रम ९ डिग्री सेल्सियस छ। मानिसहरूले घरबाहिर निस्कँदा आँखा पीरो हुनेजस्ता असजिलो महशुस गरिरहेका छन्। वातावरण विभागका अनुसार यसो हुनुमा प्रदूषण बढ्नु हो।

विभागका अनुसार काठमाडौं, विराटनगर र नेपालगञ्जमा पनि यस्तै समस्या छ। वायु प्रदूषणको मात्रा उच्च भएको पाइएकोले विभागले नागरिकहरूलाई सावधानी अपनाउन पनि विभागले अनुरोध गरेको छ।



वातावरण विभागका उपनिर्देशक इन्दुविक्रम जोशी सकेसम्म घरभित्रै बस्नुपर्ने बताउँछन्। ‘वृद्धवृद्धा र बालबालिका बढी जोखिममा रहन्छन्। घरभित्रै बस्नु राम्रो हुन्छ। तर घरभित्र आगो बाल्नु भने हुन्न,’ उनले भने, ‘अत्यावश्यक परेर घरबाहिर निस्कनु परे मास्क अनिवार्य लगाउनु पर्दछ।’प्रदूषण कम गर्न सकेसम्म धुँवा आउन दिन नहुने उनले बताए।

यो पनि एकैदिनमा कसरी खतराको तह पार गर्‍यो काठमाडौंको वायु प्रदूषणलेरु ‘सकेसम्म गाडीहरू पनि कम चलाउनुपर्‍यो,’ उनले भने। विभागले नागरिकहरूलाई यस्ता जोखिमबाट जोगाउन सचेत गराइरहेको उनको भनाइ छ।

‘बुधबारसम्म पनि यस्तै अवस्था रहिरहे थप सावधानी अपनाउनु पर्ने हुन्छ,’ उनले भने, ‘हिजोभन्दा आज सुधार आएकोले भोलिसम्म केही कम हुन्छ कि भन्ने आशा छ।’ बुधबार प्रदूषण कम नभए सरकारसँग अनुरोध गरेर गाडीहरू जोर-बिजोर प्रणालीअनुसार सञ्चालन गर्नेजस्ता निर्णयमा जाने उनले बताए।

‘प्रदुषण यसैगरी बढे के गर्ने भनेर एक वर्षअगाडि हामीले योजना नै बनाएका थियौं। स्कुल, कलेज बन्द गर्ने, इँटालगायत उद्योगधन्दा बन्द गर्ने हो तर कोरोनाले यी सबै बन्दजस्तै छन्,’ उनले भने। काठमाडौंमा यस्तो प्रदूषण क्षणिक समयका लागि मात्रै बढेको अनुमान विभागले गरेको उनले जानकारी दिए।

सम्बन्धित समाचार