केपी ओली राजनीतिक क्यान्सर हुन्, क्यान्सरले हामी सबैलाई खान्छः डा  भट्टराई

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली इमान्दार तानाशाह भएको आरोप लगाएका छन् । बुधबार नेकपाको प्रचण्ड–माधव समूहले गरेको अन्तर पार्टी अन्तरक्रियामा भट्टराईले ओली परिवर्तन विरोधी भएको बताए ।

‘जेलबाट निस्किएर आएपछि उहाँ अग्रगमनको विरोधी हो । उहाँले लुकाउनु भएको छैन । उहाँ इमान्दार तानाशाह हो,’ भट्टराईले भने । तर, अहिले पनि केपी ओलीलाई पार्टीबाट ननिकालिएकोमा उनले प्रश्न गरे, ‘केपी ओली परिवर्तनको विरोधी मान्छे हो । तपाईंहरु (नेकपाका नेताहरु)ले कसरी बोकेर ल्याउनुभयो, अचम्म लाग्छ ।’



भट्टराईले ओलीलाई राजनीतिक क्यान्सरको संज्ञा दिए । ‘केपी ओली राजनीतिक क्यान्सर हो । राजनीतिक क्यान्सरले हामी सबैलाई खान्छ’, उनले भने । पार्टीभित्र देखिएको क्यान्सरलाई चाँडो फाल्न आग्रह समेत गरे ।

पूर्वप्रधानमन्त्री भट्टराईले ओलीलाई तेस्रो आरोप पनि लगाएका छन् । उनले ओलीलाई बाह्य शक्तिको मतियार भएको बताए । ‘नियोजित ढंगले संविधान उल्ट्याएर देशमा अस्थिरता ल्याउने बाह्य शक्तिको केपी ओली मतियार हो’, उनले आफ्नो अभिव्यक्ति गलत सावित भएको देख्न चाहने बताए ।

तर, बाह्य शक्ति पनि नेपालकै आन्तरिक कमजोरीका कारण निम्तिएको उनको भनाइ थियो । ‘हाम्रै गल्ती र कमजोरीमा विदेशीले खेल्ने हो । मार्क्सवादीहरुले विनाशको कारण आन्तरिक हुन्छ भन्छ । मुख्य कमजोरी तपाईं हाम्रै हो’, भट्टराईले भने ।

भट्टराईले संसद् विघटन विरुद्ध एकजुट हुनुपर्ने बताए । तर, त्यसका लागि केपी ओलीलाई प्रचण्ड–माधव समूहले कमिटीबाट ननिकालेको आशंका भएको उनले बताए । ‘बीचमै अलपत्र पार्ने त होइन भन्ने काँग्रेस र हामीसँग आशंका छ, चाँडो प्रष्ट हुनुहोस्’, भट्टराईले भने ।

सम्बन्धित समाचार