खातामा भएको पैसा निकाल्न जब लाश बोकेर गाउँले बैंकमा पुगे…

भारतमा एक अनौठो घटना भएको छ। भारतको बिहार राज्यको पटनामा बैंक खातामा भएको पैसा निकाल्न लाशलाई बैंक लगिएको छ। पटनाछेउको शाहजहाँपुर थाना क्षेत्रको सिगरियावांमा केनरा बैंकको शाखामा पैसा लिन गाउँलेहरुले लाशलाई नै बैंकमा लगेका हुन्।

त्यहाँका महेश यादवको मंगलबार बिहान मृत्यु भएको थियो। महेशको मृत्युपछि गाउँलेहरुले अन्तिम संस्कारको लागि बैंकमा गएर उनको खातामा भएको पैसा मागे। बैंकले नियमअनुसार नभएकोले पैसा दिन नमिल्ने बताएको थियो। त्यसपछि आक्रोशित बनेका गाउँलेले यादवको लाश लिएर बैंकमा गए।



उनीहरुले ३ घण्टाभन्दा बडी समय यादवको लाशलाई बैंकमा राखेका थिए। पैसा नदिएसम्म लाश नलाने अडान गाउँलेहरुको थियो। उनीहरुको शैलीबाट आजित हुँदै म्यानेजरले आफ्नो १० हजार रुपैयाँ दिएर त्यहाँबाट बिदा गरे। पैसा पाएपछि गाउँलेहरुले महेशको लाश लिएर अन्तिम संस्कारको लागि गए। समाचार स्रोतका अनुसार महेशको बिहे भएको थिएन र उनको परिवारमा कोही थिएनन्।

बैंक खातामा उनले आफ्नो कुनै हकदार पनि उल्लेख गरेका थिएनन्। बैंकका अनुसार उनको केवाइसी फाराम अपडेट भएको थिएन। त्यसैले बैंकले प्रक्रिया पूरा नगरी उनको पैसा दिन नमिल्ने बताएको थियो।

सम्बन्धित समाचार