ट्रम्प समर्थकद्वारा अमेरिकी संसद भवनमा हतियारसहित आक्रमण, १ जनाको मृत्यु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवन क्यापिटल बिल्डिङभित्र आक्रमण गरेका छन् । अमेरिकी कंग्रेसमा जो बाइडनको जितको पुष्टि गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकले हमला गरेका हुन् । सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू क्यापिटल बिल्डिङभित्र प्रवेश गरेपछि छलफल रोक्नु परेको थियो ।

ट्रम्प समर्थकले मच्चाएको हिंसाका कारण अवस्था तनावग्रस्त बनेपछि वासिङ्टनमा कर्फ्यु घोषणा गरिएको छ । प्रदर्शनका क्रममा संसद भवनभित्र गोली लागेर एक महिलाको मृत्यु भएको छ । ती महिलालाई छातीमा गोली लागेको थियो । प्रदर्शनका क्रममा ६ जना गम्भीर घाइते भएका छन् भने दुई दर्जन पक्राउ परेका छन् । सुरक्षाकर्मीले २ विस्फोटकसहित ५ हतियार नियन्त्रणमा लिएका छन् ।



अवस्था नियन्त्रण बाहिर गएपछि नेशनल गार्डलाई क्यापिटल हिल पठाइएको ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले ट्वीटमार्फत जानकारी दिएकी छन् । उनले ट्वीटमा लेखकी छन्, ‘राष्ट्रपति डोनल्ड ट्रम्पको निर्देशनमा नेशनल गार्ड अन्य संघीय रक्षा सेवाहरूका साथमा बाटोमा छन् । हामी हिंसाविरुद्ध र शान्ति कायम राख्नका लागि राष्ट्रपतिको आग्रह पुनः दोहोर्‍याउँछौँ ।’

प्रदर्शनकारीहरू झ्याल र ढोकामा तोडफोड गरेर भवनभित्र प्रवेश गरेका थिए । प्रदर्शनकारी हिंस्रक भएपछि सांसदहरूलाई प्रहरीले सुरक्षा दिएर बाहिर ल्याएको दृश्य देखिएको छ । भवनभित्र प्रवेश गरेका हतियारसहितका ट्रम्प समर्थकले सभामुखको कार्यकक्षमा बसेर ट्रम्पको पक्षमा नाराबाजी गरेका थिए ।

कंग्रेसको संयुक्त सत्रले इलेक्टोरल कलेज मतको गणना गरेर त्यसलाई पुष्टि गरिरहेका बेला सो हमला भएको हो । यो प्रक्रिया संक्षिप्त हुने भएपनि रिपब्लिकन सांसदहरूले केही मतपरिणामलाई अस्वीकार गरिरहेका थिए । बाइडनको जितलाई रोक्ने कुनै पनि प्रयास विफल हुने निश्चित छ । केही दिनदेखि राष्ट्रपति ट्रम्पले सो सत्रको अध्यक्षता गर्ने उप–राष्ट्रपति माइक पेन्समाथि पनि मत परिणामलाई प्रमाणिकरण नगर्न दबाब दिइरहेका छन् ।

तर बुधवार पेन्सले कंग्रेसलाई लेखेको पत्रमा कुन इलेक्टोरल मतको गणना गर्नुपर्छ भन्ने निर्णय गर्ने एकाधिकार आफूसँग नभएको उल्लेख गरेका छन् । तर पनि ट्रम्पले आफ्नो हार प्रमाणिकरण रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेका छन् ।

वासिङ्टनका मेयरले अवस्थालाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेका छन् । कर्फ्युका बाबजुद पनि संसद भवन क्षेत्रमा प्रदर्शन जारी छ ।

सम्बन्धित समाचार