नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुस ।

प्रधानमन्त्री केपी ओलीले आफूलाई गाली गलौजमा उत्रिने फूर्सद नभएको बताएका छन् । शुक्रबार धनगढीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री अोलीले प्रचण्ड–माधव नेपाल समूहका नेताले शीर्ष नेतृत्वलाई गाली गलौज गरेर हिँड्ने गरेको भन्दै आफूहरुलाई काम गर्नमा व्यस्त भएकाले गालीगलौजमा उत्रिने फूर्सद नभएको बताएका हुन् ।
‘केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गाली गलौज गरेर मुख छोड्ने, सभ्यता केही छैन् । प्रचण्ड माधव नेपालसँग आन्दोलनमा गएर गालीगलौज गरेर हिँडेका छन् । हामीलाई गाली गलौज गर्ने, दन्त बझान गर्ने फुर्सद छैन् । कृषिको आधुनिकीकरण गर्नुछ’, उनले भने ।
उनले भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको बताए । ‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, उनले भने ।
ओलीले प्रचण्ड–माधव समूहलाई भगौडाको संज्ञा दिए । धनगढीमा शुक्रबार आयोजित सभालाई सम्बोधन गर्दै उनले नेताहरु पार्टीको बैठक छाडेर सडकमा गएको बताए । उनले भने, तपाईंहरुले यहाँ गाली गर्दै हिँडेका, पार्टी छाडेर भागेका भगौडाहरुका कुरा सुन्नु भएको होला । तपाईंहरु प्रभावित भइरहनुपर्ने आवश्यकता छैन ।’
बैठकमा नआएर नेताहरु कहाँ गएछन् भनेको त बाटोमा हामी यहाँ छौं भनेर बसेको उनले बताए । पार्टी छाडेर भागेका भगौडाहरुलाई निर्वाचनबाट ठेगान लगाइदिन जनतामाझ उनले अपिल पनि गरे ।
