नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ पुस ।

प्रधानमन्त्री केपी ओलीले धेरै प्रयास गर्दा पनि अहिले प्रधानमन्त्री हटाउन नसकेको बताएका छन् । राष्ट्रियसभामा बैठकमा आज उनले भने, ‘चाहेर पनि कसैले प्रधानमन्त्री हटाउन सकेन, यो स्थिरता र स्थायित्वको अवस्था हो ।’ उनले चुनावको घोषणा हुनु अस्थिरता नभएको पनि बताए । ‘चुनाव हुनु अस्थिरता होइन । बाह्य शक्तिको इसारामा जब देशका शक्ति गोटी बन्न थाल्छन् । देशको राजनीतिलाई अस्वस्थतातिर धकेल्न थाल्छन् । निर्वाचित प्रमलाई काम गर्न नदिने अवस्था आउँछ । त्यो हो,’ उनले भने ।
उनले अल्पमतका प्रधानमन्त्री, एउटा व्यक्ति सांसदले पनि यदि विश्वासको मत प्राप्त गर्न सकेन भने प्रतिनिधिसभा विघटनका लागि सिफारिस गर्न सक्ने भन्दै प्रतिनिधिसभा विघटनको बचाउ पनि गरे । ओलीले आफुले जिम्मेवारपुर्वक र कर्तव्यबोधसहित प्रतिनिधि सभा विघटनको कदम चालेको बताए ।
उनले मैले गल्ति गरेको भए जनताले दण्डित गर्ने बताउदै अब मैदान तयार भएकोले सबैलाई मैदानमा आउन सबैलाई आग्रह गरेका छन् । उनले देश नयाँ अवस्थामा पुगेको बताउदै तोकिएको भन्दा अलिकति अगाडी निर्वाचनमा जान लागेको बताएका हुन् । उनले लोकतान्त्रिक प्रणालीका मुल्य मान्यताका सकारात्मक र उन्नत पक्षको प्रयोग गरेर सरकार अगाडी बढेको बताए ।
‘सरकारलाई काम गर्न नदिने, सरकारलाई काममा व्यवधान खडा गर्ने, जहिले पनि झमेला मात्र खडा गर्ने, केहि व्यक्तिहरुले निजि स्वार्थले देशलाई अगाडी बढ्न नदिएर राजनीतिलाई फेरी बहुमतलाई टुक्राउने, बहुमतलाई खण्डित गर्ने, अस्वस्थ अनुचित र अलोकतान्त्रिक षड्यन्त्रबाट देशको राजनीतिलाई फेरी ६-६ महिनामा प्रधानमन्त्री फेर्ने खेल गरियो । संसदलाई प्रभावकारी ढंगले काम गर्न नदिने, सरकारले प्रस्तुत गरेका प्रस्ताव निर्णयार्थ प्रस्तुत नै नगरिदिने अवस्था आयो ।’ उनले भने ।
प्रधानमन्त्री ओलीले जनताको इन्छा ५ वर्ष सरकार टिकोस भन्ने रहेपनि सरकार संचालन गर्ने दल भित्रनै चरम अस्वस्थता भएपछि अस्थिरता सिर्जना भएको आरोप लगाए । उनले सरकारविरोधी रणनिति बनाउन एउटै नेताको घरमा २८० पटक बैठक बसेको आरोप लगाउदै त्यस्तो गर्नु किन परेको थियो ? भन्दै प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले रानीपोखरी बनाएको, भूकम्पले भत्काएका ७ लाख घरको पुनर्निर्माण गरेको बताउदै विभिन्न ऐतिहासिक तथा संस्कृतिक पुनर्निर्माण भएको बताए ।
एक वर्षमा ९७९ किलोमिटर सडक कालोपत्र भएको भन्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म ९२ प्रतिशत विधुतीकरण भइसकेको दाबि गरे । कृषिको आधुनिकीकरणमा काम भएको उनले बताए । शिक्षा र स्वास्थ्यको क्षेत्रमा प्रगति भयको भन्दै विद्यालयमा भर्नाको अवस्थामा व्यापक सुधार भएको दाबि प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफुले भारतसँगको सम्बन्ध सहि अर्थमा राम्रो बनाउन चाहेकोले नै आफु प्रधानमन्त्री भएको बेलामा बढी चर्चा हुने उनले बताए । मित्रराष्ट्रसँग खुलस्त छलफल गर्नुपर्ने बताउदै हाम्रा समस्या, अडानहरु र न्यायोचित भनाईलाई स्पष्ट रुपमा राख्नु पर्ने बताउदै भारतसँग राम्रो सम्बन्ध चाहेको बताए ।
प्रधानमन्त्री ओलीले कालापानीलगायतका भूभाग नक्शामा समावेश गरेपछि अहिले भारतसँग सोहि अनुसार छलफल भइरहेको बताउदै त्यो भूभाग कायम गरेर छोड्ने बताए । नयाँ नक्शा छापिएपछि कतिपयलाई छटपटी भएको प्रधानमन्त्री ओलीले बताए । देशले छलांग मारेकोले गर्दा अहिले सरकारविरुद्ध षड्यन्त्र भएको उनले बताए ।
