नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

महासचिव मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले संसद पुनःस्थापना वा निर्वाचनबाट विद्यमान संकटको समाधान नहुने निष्कर्ष निकालेको छ । पुस २४–२६ गतेसम्म काठमाडौंमा सम्पन्न नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय समितिको आकस्मिक बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव किरणले संसद विघटनलाई निरंकुशतावादी तथा फासीवादी कदमका रूपमा विश्लेषण गरेका छन् ।
‘नेपाली राजनीतिक क्षितिजमा ३ प्रकारका सम्भावना वा परिदृश्य देखापरेको उल्लेख गरिएको छ । त्यसअनुसार – पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनःस्थापना गरिएका दुवै अवस्थामा विद्यमान संकटको समाधान हुन सक्दैन । दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरूबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरंकुशतावादको बाटोमा जान सक्तछ । तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरू एकतावद्ध भई संयुक्त संघर्षलाई प्रभावकारी ढंगले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकासतर्फ अगाडि बढ्न सक्तछ । प्रस्तावमा ३ सम्भावनामध्ये तेस्रो सम्भावनातर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
बैठकले महासचिव किरणद्वारा बैठकमा प्रस्तुत ‘वर्तमान परिस्थिति र पार्टीको कार्यभार’ शीर्षकको राजनीतिक प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ ।
