नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताएका छन् । सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्तामाथि प्रहरीले लाठिचार्ज गरेपछि राणाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
राणाले सरकारले अन्यायपूर्ण र गलत काम गरेको बताए । अध्यक्ष राणाले सरकारमा बस्नेहरु राष्ट्रप्रति इमान्दार र बफादार बन्नुपर्ने बताए । नेपालमा हिन्दु धर्म पुर्नस्थापित हुनुपर्ने र लोकतन्त्र जोगाउन पुरानो राजसंस्था आवश्यक रहेको उनको भनाइ छ ।
पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तित्तरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।
