नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताएका छन् । सोमबार काठमाडौंमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै उनले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहेको बताए । प्रधानमन्त्री ओलीको गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उनको भनाइ छ ।
अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूलाई दिन आग्रह गरेको पनि बताए । उनले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचलि विधानसम्मत चल्ने जानकारी दिएको बताए ।
अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताए । प्रधानमन्त्री ओलीले सबै शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उनले जिकिर गरे । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताए।
