नेकपाको विवादले सिङ्गो मुलुक नै समस्यामा पर्यो: जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता जनार्दन शर्माले दलभन्दा राष्ट्र र संविधानको रक्षाका विषयमा बढी चिन्ता बढेको बताएका छन्। प्रेस सङ्गठन नेपाल सुर्खेतद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री शर्माले राष्ट्र नै नरहे पार्टीको औचित्य सकिने बताए।

नेकपामा देखिएको विवाद र फुटले सिङ्गो मुलुक नै समस्यामा रहेको बताउँदै उनले नेपाली जनताको लामो समयको त्याग र बलिदानबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षा गर्नु आजको आवश्यकता रहेको औँल्याए। पार्टी स्थायी कमिटी सदस्य शर्माले नेकपामा आएको विभाजनले मुलुकलाई समाजवादोन्मुख अर्थतन्त्र र समतामूलक समाज निर्माणतर्फ लैजान बोकेको सुन्दर सपना धरापमा परेको उनको भनाइ थियो।



कर्णाली प्रदेशमा २४ प्रतिशत दलित जनसङ्ख्या हुँदा पनि सरकारमा एक जना मान्छे नहुनु कमजोरी भएको स्वीकार गर्दै पार्टी कर्णाली प्रदेश इञ्चार्ज शर्माले भावी दिनमा मन्त्रिपरिषद् पुनःगठन गर्दा मिलाएर लगिने बताए।

अब केही समयपछि कर्णाली सरकार पुनःगठन हुने र त्यसमा दलित वर्गलाई समावेश गरेर लैजाने उनले विश्वास दिलाए। परिवर्तनका पक्षधरसँग नयाँ ढङ्गले नयाँ उचाइको एकता गरिने पनि उनको भनाइ थियो।

सम्बन्धित समाचार