नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले ‘सेटिङ’ मिलाएर फैसला आफ्नो पक्षमा पार्न खोजेको आरोप लगाएका छन्। नेपाल कम्युनिस्ट पार्टी गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित वृहत कार्यकर्ता भेला तथा संघर्ष अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता श्रेष्ठले यस्तो बताएका हुन्। संसद विघटनविरुद्ध करिब एक दर्जन बढी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलाशमा विचाराधिन छन्।
केपी ओली गुटका मानिसहरुले प्रधानमन्त्रीले असंवैधानिक कदम त चालेकै हुन् तर सेटिङ मिलाएर आफ्नै पक्षमा फैसला गर्न बाटो बनाएको बताउने गरेको उनको बताए। ‘केपी ओलीका गुटका मानिस भनिरहेका छन्, यो असंवैधानिक त हो। विधान विपरित त छ। तर, केपी बाले सेटिङ मिलाउनु भएको छ। सबै हाम्रो पक्षमा फैसला हुन्छ। निर्वाचन आयोगले पनि हाम्रै पक्षमा फैसला गर्छ।’
पार्टी प्रवक्ता समेत रहेका श्रेष्ठले अरुले जे भनेपनि आफू भने अदालतप्रति पूर्ण विश्वस्त रहेको स्पस्ट पारे। अदातलतले संविधानमै भएको व्यवस्था प्रयोग गरेर फैसला गर्ने भएकाले प्रतिनिधिसभा पुनस्स्थापित हुनेमा आफू विश्वस्त भएको उनले जिकिर गरे।
‘सर्वोच्चले संविधानसम्मत फैसला गर्छ। संविधानमा भएको व्यवस्थाअनुसार नै निर्णय गर्ने हो। यसको विकल्प छैन। अदालतले स्वतन्त्ररुपमा फैसला गर्छ’, उनले भने,’तर पनि ‘सेटिङ’का बारेमा हामी सचेत हुनैपर्छ।’
संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रधानममन्त्री ओलीले संसद विघटन गरेर संविधानमाथि आक्रमण गरेको आरोप लगाए। २०७७ पुस ५ गते नेपालको राजनीतिक आन्दोलनको इतिहासमा कालो दिन शुरु भएको भन्दै प्रतिनिधिसभा पुनस्स्थापना नभएसम्म संघर्ष जारी राख्ने उनले बताए।
