नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ पुस ।
विश्वभर फैलिएको कोरोना भाइसरका कारण नेपालमा गत चैतबाट लकडाउन भएयता नेपाली सिनेमा घरहरूमा नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छैनन् । सरकारले चलचित्र हलहरू खेल्ने निर्णय गरेसँगै लोकप्रिय नायक शिव श्रेष्ठले निर्माग गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउने भएको छ । नायक श्रेष्ठले दर्शकले आफूलाई ४० वर्षयता दिंदै आएको मायाको गुन तिर्न भए पनि जोखिम मोलेर कोरोनाले निराश बनेका दर्शकलाई मनोरञ्जन दिन चलचित्र प्रदर्शनमा ल्याउने जमर्को गरेको बताएका छन् । हाल चलचित्र निर्माणमा पनि हात हालेका उनै कलाकार शिव श्रेष्ठसँग नवकान्तिपुर डटकमको लागि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।
लामो समयको कोरोना कहरपछि चलचित्र हलहरू खुल्ने भएका छन् । निर्माताहरू चलचित्र चलाउन डराइरहेको अवस्थामा तपाईले आफूले निर्माग गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शनमा ल्याउँदै हुनुहुन्छ । यो आँट कसरी आयो ?
विगत ४० वर्षदेखि दर्शकहरूले मलाई माया गर्दै आउनुभयो । अहिले कोरोनाका कारण निराश भएका दर्शकहरूलाई मैले पनि मेरो तर्फबाट त्यो मायाको गुन तिर्ने अवसर आएको छ भन्ने सोचेर मैले आफूले निर्माण गरेको यो चलचित्र प्रदर्शनमा ल्याउने सोच आयो । साथीहरूले मलाई यत्रो लगानी रहेको चलचित्र यस्तो अवस्थामा प्रदर्शनमा ल्याएर जोखिम नमोल्न आग्रह गरेका थिए तर दर्शकले ममाथि गरेको मायारूपी लगानीको तुलनामा यो चलचित्रमा परेको लगानी केही पनि होइन भन्ने लाग्यो र चलचित्र प्रदर्शन गर्ने आँट गरेँ । कोरोनाको भ्याक्सिन नेपालमा कहिले आउँछ थाहा छैन । तर मेरो चलचित्रले कोरोनाको तनावका बीच मनोरञ्जनात्मक भ्याक्सिनको काम गर्नेछ भन्ने अपेक्षाका साथ चलचित्र प्रदर्शन गर्ने जमर्को गरेको हुँ ।
फेरि पनि हलमा आउन दर्शकहरू डराउने हुन् कि भन्ने लाग्दैन ?
नेपालमा विस्तारै संक्रमितको संख्यामा कमी आएको छ । विद्यालयहरू, सार्वजनिक यातायात, होटल तथा रेष्टुरेण्टहरू पनि खुल्न थालेका छन् । चलचित्र हल खोल्न पनि सरकारले स्वीकृति दिइसकेको छ । फेरि हलमा पनि सामाजिक दुरी कायम गरेर स्वास्थ्य मापदण्ड पूरा गरेर नै चलचित्र देखाइने हो । त्यसैले विद्यालय र सार्वजनिक यातायातलगायतलाई हेर्दा हल नै धेरै सुरक्षित देखिन्छ । त्यसैले कोरोनाकै डरका कारण दर्शक हलसम्म नआउनुहोला भन्ने लाग्दैन ।
एक निर्माताको नजरबाट भन्दिनुस् न, चलचित्र कस्तो बनेको छ ?
म मेरो चलचित्र भयङ्कर छ भन्दिन । चलचित्र कस्तो बनेको छ भन्ने कुरा दर्शकले चलचित्र हेरेपछि दिने प्रतिक्रियाबाट अनुमान लगाउने हो । मलाई त आफ्नो लगानी र मेहनत परेको चलचित्र राम्रै लाग्छ नि ! चलचित्रको लागि सबै कलाकार प्राविधिकहरूले निकै मेहनत गर्नुभएको छ । मलाई दर्शकहरूको प्रतिक्रियाको प्रतीक्षा छ ।
चलचित्र क्षेत्रमा निकै रूचाइनुभएको तपाईको छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरकी छोरी कविता मानन्धरले यसै चलचित्रमार्फत डेब्यु गर्दै छन् । एक अभिनेताको नजरमा उनीहरूको काम गराई र भविष्य कस्तो देख्नुहुन्छ ?
शक्ति र कविता दुबैको रगतमा नै अभिनयको नशा छ । उनीहरूले चलचित्रमा काम पनि राम्रो गरेका छन् । दर्शकले उनीहरूको अभिनय रूचाउछन् भन्नेमा म ढुक्क छु । समग्रमा चलचित्र चल्नु र नचल्नुले उनीहरूको आगामी दिनको यात्रालाई प्रभाव पार्न सक्छ तर चलचित्रकर्मीमाझ भने उनीहरू पहिलो चलचित्रमार्फत नै नोटिसमा पर्छन् भन्ने लाग्छ ।
https://www.youtube.com/watch?v=YTHsj-12_qA
आफ्नै छोरोले चलचित्रमा डेब्यु गर्दै गर्दा तपाईले आफ्नो पहिलो चलचित्रमा काम गरेको याद आएन ?
टेक्नोलोजिको हिसाबले अहिलेका कलाकारहरू धेरै भाग्यमानी छन् । हाम्रो पालामा त चलचित्र हेर्न पनि सहज थिएन । अहिलेको जस्तो मिडिया पनि थिएनन् । अन्तर्राष्ट्रिय चलचित्रहरूबाट अनुभव लिने भन्ने पनि हुँदैनथ्यो । अहिलेका कलाकारहरूले सबैखालका अवसर पाएका छन् । त्यसैले पनि मलाई पछिल्लो पुस्ताका कलाकारबाट धेरै नै अपेक्षा पनि छ । उनीहरूले अवसरलाई क्याच गर्न सके भने माथि उठ्न समय लाग्दैन । सञ्चार क्षेत्रको विकासले पनि कलाकारलाई दर्शकमाझ पुग्न धेरै सहज भएको छ । हामीहरूले यो अवसर नै पाएनौं । त्यसैले कहिलेकाहीँ अलिक अगाडि जन्मिएर गल्ती भयो कि जस्तो लाग्छ मलाई ।
अन्त्यमा, चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को बारेमा केही जानकारी दिनुहोस् न, समग्रमा चलचित्र कस्तो बनेको छ ?
यो नामबाटै यहाँले थाहा पाइहाल्नुभयो कि यो प्रेम कहानीमा नै आधारित चलचित्र हो भनेर । शक्ति र कविताले यसै चलचित्रमार्फत डेब्यु गरेका छन् । साथै चलचित्रमा प्रियंका कार्की, वर्षा राउत, आयुस्मान देशराज, सुस्मा कार्कीलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । चलचित्र राम्रो बनाउन मलगायत सम्पूर्ण टिमले मेहनत गरेका छौं । एक निर्माताको हिसाबबाट चलचित्र सशक्त बनोस् भन्नेमा मैले कुनै कसर बाँकी राखेको छैन । साथै चलचित्रको कन्टेन्ट पनि बलियो भएकोले दर्शकले रूचाउनुहुन्छ भन्नेमा म आशावादी छु ।